एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले शनिबार नेदरल्याण्ड्स विरुद्ध खेल्ने
आईसीसी विश्वकप छनोट अन्तर्गत क्रस प्लेअफमा पपुवा न्यूगिनीविरुद्ध जित हासिल गरी एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि हुने खेलमा शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
नेदरल्याण्ड्सविरुद्धको खेल शनिबार नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।
शनिबारको खेल नेपालका लागि प्रतिष्ठाको लागि हुनेछ ।
विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्सलाई पराजित गर्न सके नेपालले सातौं स्थानमा रहेर प्रतियोगिता टुंग्याउनेछ ।
नेपालले विश्व क्रिकेट लिग लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्ससँग खेलेका दुई खेलमा एकमा जित र अर्को खेलमा हार ब्यहोरेको छ ।
२०१६ को अगस्ट १३ मा भएको पहिलो खेलमा ७ विकेटले पराजित भएको नेपालले अगष्ट १५ मा भएको दोस्रो खेलमा १९ रनको जित निकालेको थियो ।
सातौं स्थानका लागि नेपाल र नेदरल्याण्ड्स आमने सामने हुँदा दुवै टिम फरक अवस्थामा हुनेछन् । एकदिवसीय मान्यता सुरक्षित गरी उत्साहित बनेको नेपाल र अपेक्षाकृत प्रदर्शन गर्न नसकेर निराश बनेको नेदरल्याण्ड् शनिबार भिड्नेछन् ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल जिम्बावेको क्वेक्वेस्थित क्वेक्वे स्पोर्टस क्लबको मैदानमा हुनेछ । यस मैदानमा नेपालले युएईसँग अभ्यास खेल खेलेको थियो ।
नेदरल्याण्ड्सले भने क्रस प्लेअफमा हङकङलाई पराजित गरेको यही मैदानमा हो । त्यस खेलको नतिजाकै कारण नेपालले एकदिवसीय मान्यता पाएको थियो ।