आइसीसी विश्वकप छनोट क्रिकेटः गर या मर को स्थितिमा नेपाल
आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले आज पपुवा न्युगिनीसँग प्रतिष्पर्धा गर्दैछ । जिम्बावेमा जारी प्रतियोगिता अन्तर्गत एकदिवसीय मान्यताका लागि पपुवा न्युगिनीसँगको आजको खेल निर्णायक हुनेछ ।
सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनोटबाट बाहिरिएको नेपालले एकदिवसीय मान्यताका लागि आजको खेल खेल्न लागेको हो ।
समूह एको पाँचौं स्थानमा रहेको पीएनजी र समूह बीको चौथो स्थानमा रहेको नेपालबीचको प्लेअफ खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।
आजको खेलमा नेपाल विजयी भए एकदिवसीय मान्यताको निकटमा पुग्नेछ ।
यस्तै आज नै समूह एमा चौथो भएको नेदरल्याण्ड्स र समूह बीमा पाँचौं भएको हङकङबीच पनि प्रतिस्पर्धा हुँदै छ ।
त्यस खेलमा नेदरल्याण्ड्स विजयी भएमा र नेपालले पीएनजीलाई हराएमा नेपालले एकदिवसीय मान्यता पाउनेछ ।
आज हुने दुवै प्लेअफमा पराजित हुने टोली डिभिजन टू मा घटुवा हुनेछ । नेपाल घटुवाबाट बँच्न पनि आजको खेल जित्नै पर्ने दवाबमा छ ।