पागलपन ! बिहे गर्न नमान्दा कञ्चनपुरकी सुनिताको अनुहारमा तातो घिउ छ्यापियो
आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरमा एक युवकले युवतीको अनुहारमा तातो घिउ छ्यापिदिएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीका राजेश चन्दले बुधबार बिहान वडा नम्बर ५ बनगाउँकी २१ वर्षीया सुनिता चन्दको अनुहारमा तातो घिउ छ्यापेका हुन् । सुनितालाई कुटपिटसमेत गरेका राजेश भने फरार छन् ।
बिहान घरमै पूजापाठका लागि घिउ तताइरहेका बेला राजेश आएर आफूसँग विवाह गर्न दबाब दिएको पिडित सुनिताले बताएकी छन् ।
तातो घ्यूले सुनिताको अनुहारमा घाउ भएको छ । घटना पश्चात तत्कालै उपचारका लागि महेन्द्रनगर आँखा अस्पताल पुर्याएको भएपनि त्यहाँ उपचार हुन नसके पनि सुनितालाई कैलालीस्थित गेटा आँखा अस्पताल लगिएको थियो ।
उपचारपछि केही सन्चो भए पनि दुवै आँखा अझै खुल्न नसकेको परिवारले जनाएको छ ।
सुनिताको परिवारले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राजेश विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले राजेशको खोजी भइरहेको जनाएको छ ।
बिहे गर्न नमानेको भन्दै तीन महिनाअघि पनि राजेशले सुनितालाई कुटपिट गरेका थिए । उनले सात–आठ महिनादेखि सुनितालाई बिहेका लागि दबाब दिँदै आएको परिवारले बताएको छ ।