राष्ट्रपति बन्न भण्डारी र राई बिच भिडन्त, कसको सर्मथन कसलाई ?

छहारी संवाददाता
फाल्गुन २९, २०७४

राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा बिहान १० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मतदानको समय छुट्टाइएको छ । राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिस्पर्धामा हुनुहुन्छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता कायम गरिएको छ ।
संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संघीय संसद् सदस्यका लागि ७९ मतभार रहेको सेतो पृष्ठभूमिमा हरियो तथा प्रदेसभा सदस्यका लागि सेतो पृष्ठभूमि रहेका रातो रङको ४८ मतभार रहेको मतपत्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
कूल ५२ हजार ५ सय मतभार कायम रहेको यो निर्वाचनमा २६ हजार २ सय ५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुने कानूनी व्यवस्था रहेको छ । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि राष्ट्रपति पदका लागि हुन लागेको यो तेस्रो निर्वाचन हो ।

यसैबीच– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कुमारी लक्ष्मी राईलाई समर्थन गर्ने भएको छ । हिजो पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले लक्ष्मी राईलाई समर्थन गर्ने निर्णय गरेको हो ।
यताः राष्ट्रपतिको चुनावमा नयाँ शक्ति पार्टी नेपालले मतदान नगर्ने भएको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा आफुहरुको स्पष्ट अडान रहेको भन्दै नयाँ शक्तिले राष्ट्रपति चुनावमा सामेल नहुने जनाएको हो ।

नयाँ शक्तिले राष्ट्रपतिको चुनावसँगै उप–राष्ट्रपतिको चुनावमा पनि सामेल नहुने स्पष्ट पारेको छ । त्यस्तै विवेकशील साझा पार्टीले पनि राष्ट्रपति चुनावमा भाग नलिने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*