घोडाघोडीका मेयरलाई गोली हान्ने तीन जना पक्राउ, मेयरको अवस्था यस्तो छ
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई गोली हानेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुसँग सोधपुछ भइरहेको प्रदेश सातका प्रहरी प्रमुख एआईजी माधव नेपालले जानकारी दिनुभयो ।
मेयर चौधरीको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरा मुक्त रहेको डाक्टरले बताएका छन् ।
मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले चौधरीलाई सुख्खड बजारमा रहेको आफनो घरमै बसिरहेका वेला सोमबार बेलुकी ८ बजेतिर गोली र खुकुरी प्रहार गरेका थिए ।
घोडाघोडीमा केही दिन पहिले बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपीट गर्ने दोषीलाई संरक्षण गरेको आरोप मेयर चौधरीमाथि लागेको थियो ।
गत बिहीबार घोडाघोडी –५ देउकलियामा एक १८ वर्षीया छात्रालार्इ बोक्सीको आरोपमा सोही ठाउँका भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगीले ६ घण्टासम्म मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
घटनापछि पीडित परिवार इलाका प्रहरी कार्यालय पुगेपछि भोलेबाबालार्इ प्रहरीले पक्राउ गरेको थियो । यद्यपी मेयर चौधरीको दबाबमा प्रहरीले मिलापत्र गराएर दोषीलार्इ कारबाही नगरी छाडिदिएको बुझिएको छ ।
राधा चौधरीमाथि कुटपिट गर्ने दोषीको संरक्षण गरेको आरोपमा केही दिनअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मेयरलाई जनकारवाही गर्ने चेतावनी दिएको थियो । मेयरमाथि गोली हान्नेहरु विप्लवकै कार्यकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।