मुम्बई सहरमा बिहीबार पुनः आगलागी,दुई बालबालिका सहित चार जनाको मृत्यु
मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको छ । आगलागीमा परि दुई बालबालिका सहित चार जनाको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी मुम्बईमा भएको यो तेस्रो भीषण आगलागी हो । यस आगलागीमा परि ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ वर्षका दुई जना बालबालिका रहेका जनाइएको छ । मुम्बईको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा बिहीबार बिहानीपख आगो लागेको थियो । त्यसै तल्लामा रहेको परिवारका सदस्यको आगलागीमा परि ज्यान गएको हो ।यस आगलागीमा परेर घाइते भएका पाँच व्यक्तिको अस्पतालमा उपचार भइरहेको मुम्बईको प्रकोप व्यवस्थापन विभागका एकजना प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् । मुम्बईमा गत डिसेम्बर २९ मा पनि बजार र रेष्टुरेन्टमा भएको लागलागीमा परि १४ जनाको मृत्यु भएको थियो । मुम्बईमा अवस्थित एक मिठाई पसलमा भवन भत्किएर सुतिरहेका १२ जना कामदारको मृत्यु भएको एक हप्तापछि पुनः यो भीषण आगलागीको घटना भएको छ । रासस