इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा लिभरपुल र लेस्टर सिटी विजयी
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल र लेस्टर सिटी विजयी भएका छन् । लिभरपुलले बर्नली र लेस्टरले हडर्ल्सफिल्डलाई हराएका हुन् । अवे मैदानमा भएको खेलमा लिभरपुलले बर्नलीलार्य २–१ ले हरायो । लिभरपुलका लागि साडिओ माने र राग्नर क्लवानले गोल गरे । बर्नलीका लागि बर्ग मुडमण्डसनले एक गोल फर्काए ।पहिलो हाफका गोल रहित बराबरी भएको खेलमा ६१ औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । ८७ औँ मिनेटमा गुडमण्डसनले बर्नलीका लागि बराबरी गोल फर्काए ।तर इन्जुरी समयको चौथो मिनेटमा क्लवानले गोल गर्दै लिभरपुललाई जित दिलाए । क्लवान प्रिमियर लिगमा गोल गर्ने पहिलो इस्टोनियाका खेलाडी पनि भएका छन् । जितपछि चौथो स्थानको लिभरपुलको २२ खेलबाट ४४ अंक भएको छ ।
अर्को खेलमा लेस्टर सिटीले हडर्ल्सफिल्डलाई ३–० ले हरायो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको लेस्टरले दोस्रो हाफमा तीन गोल गर्यो ।लेस्टरका लागि ५३ औँ मिनेटमा रियाद महरेज, ६० औँ मिनेटमा इस्लाम इस्लिमानी तथा इन्जुरी समयको दोस्रो मिनेटमा अलब्राइटनले गोल गरे ।
जितपछि आठौँ स्थानको लेस्टरको २२ खेलबाट ३० अंक भएको छ । अर्को खेलमा न्युक्यासलले स्टोक सिटीलाई १–० ले हरायो । ब्राइटन र बोर्नमाउथले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।