पदमपोखरी बहुमुखी क्याम्पसमा दुई वडाका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था

छहारी संवाददाता
पुस १६, २०७४

मकवानपुरको हेटौंडा १३ मा रहेको पदमपोखरी बहुमुखी क्याम्पसमा स्थानीय विद्यार्थीहरुका लागि निःशुल्क शिक्षाको व्यवस्था मिलाइएको छ ।
वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान र १३ नम्बर वडाका अध्यक्ष मनोज वाईबा सहित बुद्धिजीविहरुको पहलमा केही विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिएको हो । क्याम्पसमा विद्यार्थीको अभाव हुन थालेपनि क्याम्पस व्यवस्थापन समिति र स्थानीय बुद्धिजीवीहरु चिन्तित बनेको अवस्थामा वडा अध्यक्षहरुको पहलमा निःशुल्क शिक्षाको व्यवस्था मिलाइएको हो ।
वि.सं. २०७१ सालमा सम्बन्धन प्राप्त क्याम्पसमा हाल स्नातक प्रथम वर्षमा विद्यार्थीहरु बढ्दो क्रममा छन् तर दोस्रो वर्षमा १० र चौथो वर्षमा ११ जना मात्र विद्यार्थी अध्ययनरत छन् । तेस्रो वर्षमा भने ३ जना मात्र विद्यार्थी भएपछि उनीहरुलाई मकवानपुर बहुमुखी क्याम्पसमा स्थानान्तरण गरिएको क्याम्पस प्रमुख कृष्णमाया लटौलाले जानकारी दिनुभयो ।
व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनका लागि र विद्यार्थीको अभाव हुन नदिन क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली, वडाका बुद्धिजीवीहरुसँगको छलफलमा प्राप्त सुझावका आधारमा विभिन्न योजनासहित अगाडि बढेका छन् ।
उनीहरुले विभिन्न चरणको छलफल पश्चात क्याम्पसका ठोस योजनाहरु समेत तयार पारी त्यस क्षेत्रका विद्यालयसँग समन्वय सहित अगाडि बढ्ने योजना बनाएका छन् ।
यसैक्रममा शनिबार स्थानीय सरोकारवालासहितको टोलीसँग क्याम्पस व्यवस्थापन समितिले छलफल गरेको छ । छलफलमा पदमपोखरीमा धेरै विद्यार्थी भएता पनि स्थानीय क्याम्पसमा भन्दा हेटौँडा बजार क्षेत्रमा रहेका क्याम्पसमा विद्यार्थी आकर्षित भएको निश्कर्ष निश्किएको छ । बजार क्षेत्रमै साथीहरुको लहैलहैमा लागेर, स्वतन्त्रताका लागि, विद्यालय र क्याम्पस परिवर्तनका लागि तथा रोजगारका लागि भन्दै विद्यार्थीहरु वडाबाट बाहिर गइरहेको तथ्य विभिन्न वक्ताहरुले उजागर गरेका थिए ।
हाल ५ जना शिक्षकहरुले कुनै सेवा सुविधा बिना नै पदमपोखरी क्याम्पसलाई धानीरहेका छन् । वक्ताहरुले क्याम्पसको भवन निर्माणका साथै स्तरीकरणको लागि समेत चासो दिएका थिए । साथै तत्काल शिक्षकहरुलाई पारिश्रमिक दिनका लागि आर्थिक राहत संकलन अभियान पनि संचालन गर्ने निर्णय गरिएको छ ।
छलफलमा बोल्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रोक्काले बिना पारिश्रमिक क्याम्पस जोगाउनैका लागि शिक्षकहरु लागिपरिरहँदा एकप्रकारको नैराश्यता समेत देखिएको  बताए । स्थानीय तहको चुनावमा उम्मेदवार समेत रहेका रामचन्द्र स्याङ्बोले क्याम्पसमा कम्तिमा ५०–५० जना विद्यार्थी ल्याउने प्रतिबद्धत्ता सहित लागेमा कार्य सफल हुने विचार प्रश्तुत गरे । कार्यक्रममा महिला मिलन वचत तथा ऋण सहकारी संस्थाकी संगिता वाईबाले क्याम्पसका लागि तत्कालका लागि २० हजार रुपैयाँ सहयोग गर्ने समेत प्रतिबद्धत्ता जनाएकी छिन् ।
कार्यक्रममा सहभागी वडा अध्यक्ष, पूर्व शिक्षक, क्याम्पस व्यवस्थापन समिति सदस्य तथा शिक्षकहरुले अल्पकालिन भन्दा पनि दिर्घकालिन योजनाका साथ अगाडि बढ्न सुझाव दिएका छन् । क्याम्पसमा शिक्षा संकाय थप गर्ने, प्राविधिक शिक्षामा जोड दिने लगायतका सुझावहरु समेत दिइएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*