राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण

छहारी संवाददाता
पुस १४, २०७४

राष्ट्रपतिबाट राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण भएसंगै राष्ट्रियसभा गठनको बाटो खुलेको छ । सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपति विद्याँदेवी भण्डारीले शुक्रबार प्रमाणिकरण गर्नुभएको हो ।
अब राष्ट्रियसभाको गठन एकल संक्रमणीय प्रणाली अनुसार हुनेछ । राष्ट्रपतिले ५९ सदस्यीय राष्ट्रियसभाका लागि ३ जना सदस्य सरकारको सिफारिसमा नियुक्त गर्नुहुनेछ भने बाँकी ५६ मध्ये हरेक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभाका सदस्य चुनिनेछन् ।
जसमा महिला दलित र आदिवासी जनजातीको समाबेशी प्रतिनिधित्व गराउनुपर्ने कानूनी प्रावधान रहेको छ । यसमा महिला र खुलातर्फ प्राथमिकताका आधारमा एकभन्दा धेरै उम्मेद्वारलाई मतदान गर्न मिल्नेछ । राष्ट्रियसभाका सदस्य चुन्नका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसदहरुले भोट हाल्न पाउँछन् । जसमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ मानिनेछ ।  
यसअघि एमालेले यो प्रणाली अमान्य हुने बताउँदै आएको थियो । एमालेले बहुमतीय प्रणाली अनुसार राष्ट्रियसभा गठन हुनुपर्ने एमालेको अडान थियो । अध्यादेशमा दलीय सहमति नभएको भन्दै राष्ट्रपति भण्डारीले प्रमाणिकरण प्रक्रिया रोक्नुभएको थियो । अध्यादेश प्रमाणिकरण गर्नुअघि राष्ट्रपति भण्डारीले शुक्रबार प्रधानमन्त्री शेरवहादुर देउवा र एमाले नेता तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गसँग छलफल गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*