पुरातात्विक महत्व बोकेको रानीपोखरीको पुनः निर्माण मल्लकालीन स्वरुप र शैली मै हुने
पुरातात्विक महत्व बोकेको रानीपोखरीको पुनः निर्माण अब पुरानै शैलीमा हुने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैली मै रानीपोखर पुनः निर्माण गर्ने निर्णय गरेको हो ।
यसका लागि पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको गरिएको छ । प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको विषयलाई लिएर विवाद भएपछि बिहिबार बसेको बैठकले पोखरी पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।
समितिको प्रतिवेदन पेश भई अर्को निर्णय नआउँदासम्मका लागि पुनःनिर्माणको काम नहुने भएको छ । प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको इतिहासबिद्हरु बताउछन् । यो पोखरी विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो ।