धनगढीमा भोलिदेखि ८ औं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु हुँदै
कैलालीको धनगढीमा भोलिदेखि ८ औं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु हुँदैछ ।
सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते दो (युजेनकाई) संघको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । संघले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता भोलि बिहान १० बजेदेखि धनगढी रंगशालामा सन्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने बुधबार दिउँसो ३ बजे हुने आयोजकको भनाई छ । प्रतियोगितामा सहभागी हुन नेपालसहित ६ देशका करिब ५ सय खेलाडी धनगढी पुगिसकेका छन् ।
नेपालका २ सय ४३, भारतका १ सय ८०, श्रीलंकाका १९, भुटानका ७, पाकिस्तानका ५ तथा बंगलादेशका ९ गरी ४ सय ६३ खेलाडी प्रतियोगितामा सहभागिताको लागि पुगेका हुन् ।
प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ८४ कास्यपदकाका लागि करिब ५ सय खेलाडीले प्रतिस्पर्धा गर्नछन् । प्रतियोगिता सन्चालनका लागि करिब २३ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।