एम्नेष्टीको अभिमुखीकरण
एम्नेस्टी इन्टरनेशनल नेपालका अभियानकर्मी सदस्यलाई हेटौंडामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मानव अधिकार, मानव अधिकारको बिश्वव्यापी घोषणापत्र, सिद्धान्तहरु, राज्यको दायित्व लगाएत एम्नेस्टी इन्टरनेशनलको बारेमा बिस्तृत रुपमा जानकारी दिईएको थियो ।
कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष राजन कुँईकेल र निर्देशक निराजन थपलियाले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल, हेटौंडाका अभियानकर्मी सदस्यहरु, पत्रकार, बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष राजन कँुईकेलको प्रमुख आतिथ्य तथा एम्नेस्टी इन्टरनेशनल समूह ६७ हेटौंडाका अध्यक्ष ह्यग्रिव आचार्यको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष कुँईकेलले वैदेशिक रोजगारीमा जोखिमहरु बढ्दै गएकाले जनचेतना अभिबृद्धी गरिनुपर्ने बताए । एम्नेस्टी इन्टरनेशनल नेपालका सल्लाहकार तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले भूराजनीतिक अवस्थाका कारण नेपालमा राजनीतिक संक्रमणको खतरा रहेकाले सबै पक्ष सचेत हुनुपर्ने बताए ।
एम्नेस्टी इन्टरनेशनल समूह ६७ हेटौंडाका विजयकुमार वैद्यले स्वागत् गरेको कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपालका महासचिव लक्ष्मी निरौला, कोषाध्यक्ष बिक्रम ढुकुछु लगाएतको आतिथ्य रहेको थियो ।
मानव अधिकारको क्षेत्रमा क्रियाशील बिश्वकै ठूलो अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलको नेपालमा करिब ७ हजार सदस्य रहेका छन् ।