अपडेटः सुपर ग्यास उद्योगमा लागेको आगो ९ घन्टापछि नियन्त्रण, आगो नियन्त्रणमा खटिएका २ कर्मचारीको मृत्यु, ६ जान घाइते

छहारी संवाददाता
पुस ६, २०७४

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ गण्डक नहर नजिक रहेको सुपर ग्यास उद्योगमा बुधबार बिहानदेखि लागेको आगो ९ घन्टापछि नियन्त्रणमा आएको छ ।
आगो निभाउन गएको महानगरपालिकाको बारुणयन्त्र जल्दा त्यसमा कार्यरत् २ कर्मचारीको जलेर मृत्यु भएको छ ।
आगलागी भएसँगै त्यहाँ पुगेको वीरगन्ज महानगरपालिकाको एउटा बारुणयन्त्रले आगो निभाउने प्रयास गर्दा गर्दै बारुणयन्त्रका कर्मचारी मधुसुदन मिश्र र यादवप्रसाद अधिकारीको जलेर मृत्यु भएको प्रहरीलाई उदृत गर्दै वीरगञ्जका पत्रकार जितेन्द्र शाहले जानकारी दिनुभयो । बारुणयन्त्रका कर्मचारी अम्बिका पटेल, सन्जीव नेपाल, अरुण महतोसहित ६ जना जलेर गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।
आगोमा परी गम्भीर घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सन्जीव नेपाललाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगी ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
आगो नियन्त्रण गर्न भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट आगो निभाउने उपकरण तथा केमिकल ल्याइएको थियो । यस्तै, बाराको सिमरा विमानस्थलमा रहेको दमकल पनि प्रयोग गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि आगो निभाउन परिचालन गरिएको थियो ।
आगलागीबाट उद्योगमा रहेका चारओटा ग्यास बुलेट, दुईओटा पिकअप, जेनरेटर लगायतका भौतिक सामग्री नस्ट भएको जनाइएको छ ।
ग्यास उद्योगमा आगलागी भएपछि वीरगन्जका सबै विद्यालय बन्द गरिएको थियो भने प्रहरीले जगरनाथपुर सुखचैना लगायत एक किलोमिटर वरपरको बस्ती खाली गराएको थियो ।
पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले बुलेटबाट ग्यास ‘लिक’ भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ । आगलागीको सम्बन्धमा छानबिन गर्न एलपी ग्यास उद्योग संघले पाँच सदस्यीय समिति गठन गरेको छ ।
समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन छन् । छानबिन समितिलाई पाँच दिनभित्र प्रतिवेदन दिन भनिएको छ ।
सात वर्षअघि स्थापना गरिएको सो उद्योग अबुलेश अन्सारीले सन्चालन गर्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*