तिहारको दोस्रो दिन बुधबार कुकुरको पूजा गरिँदै, कुकुरको पूजा गर्नाले स्वर्ग जाने बाटो खुल्ने धार्मिक विश्वास

छहारी संवाददाता
कार्तिक १, २०७४

यमपञ्चक अर्थात तिहारको दोस्रो दिन बुधबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर पूजा गरी कुकुर तिहार मनाइँदैछ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिएर पूजा गर्नाले यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्या समेत बढ्न थालेको छ ।
यस्तै आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्यु पश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक नुहाउने विधि समेत रहेको अध्यक्ष गौतमले बताउनुभयो ।
यमपञ्चक अर्थात तिहारका पाँचै दिन बेलुका घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलन समेत रहेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*