यमपञ्चकको पहिलो दिन आज कागतिहार, कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने जनविश्वास
यमपञ्चकको पहिलो दिन आज कागतिहार । आजको दिन नेपालीहरुले आ–आफ्नो घरआँगनमा कागलाई डाकेर विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्दछन् ।
आजको दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास रहिआएको छ । नेपाली समाजमा कागलाई सन्देश वाहक पंक्षीको रुपमा लिइन्छ । साथै समस्त पंक्षीहरु मध्ये सबैभन्दा चतुर पनि मानिन्छ ।
वरिष्ठ पंक्षीविद हरिशरण नेपालीका अनुसार संसारभर काग प्रजातिका पंक्षीहरु १०० किसिमका छन् ।
नेपालमा भने १४ किसिमका कागहरु भेटिने उहाँले बताउनुभयो । त्यसमा पनि काग नै भनेर नाम पाएका पंक्षी ४ थरीका रहेको उहाँको भनाइ छ ।
वरिष्ठ पंक्षीविद नेपालीका अनुसार मे, जून र जुलाईमा कागको प्रजनन हुन्छ । उनीहरुले वर्षमा एक पटकदेखि तीन पटकसम्म गर्भाधान गर्न सक्छन् । एक पटकमा पाँच वटासम्म बच्चा जन्माउँछन् ।
काग ज्यादै छुचो पंक्षी पनि हो । यसले वरपरको चराचुरुङ्गीका फुल र बच्चा खाएर दुःख दिन्छ । यसले बालीनाली पनि नष्ट गर्छ । कागले भँगेराले जस्तो चुच्चोले टिपेर खानेकुरा खान सक्दैन । यसले लुछेर खान्छ ।
जे पनि खाने जात भएकाले नेपालमा कागको मासु खाने प्रचलन छैन । कागको मासु खाँदा स्वास्थ्यलाई हानी भने नगर्ने पंक्षीविद नेपालीको भनाई छ । अनलाइनखबर