आचारसंहिता उल्लंघन गरेका प्रधानमन्त्री देउवासंग स्पष्टीकरण माग्ने निर्वाचन आयोगको निर्णय

छहारी संवाददाता
भदौ २९, २०७४

निर्वाचन आयोगले स्थानीय तह चुनाव अन्तर्गत प्रदेश नम्बर २ मा हुन गइरहेको चुनावको प्रचारप्रसारका क्रममा विभिन्न राजनीतिक दलका नेताले आचारसंहिता उल्लंघन गरेपछि उनीहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित चुनावी सभामा पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्ने विषय आचारसंहिता विपरीतको भएको भन्दै आयोगले कांग्रेस सिरहाका सभापतिलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
त्यस्तै निर्वाचनको प्रचारप्रसारका क्रममा धनुषामा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको चुनाव चिह्न अंकित गम्छा लगाई सहभागी भएको भन्दै आयोगले यस्तो कार्य आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
त्यसैगरी, धनुषाको मिथिला नगरपालिका लालगढमा यही भदौ २७ गते कांग्रेस र नेकपा माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी र्‍यालीमा दलको झण्डा बोकेर बालबालिकालाई प्रचारप्रसारमा खटाइएको भन्दै आयोगले र्‍यालीका आयोजकलाई २४ घन्टाभित्र आयोग समक्ष स्पष्टीकरण पेश गर्न बेग्लाबेग्लै निर्देशन दिएको जनाएको छ ।
यसैबिच आयोगले स्थानीय तह चुनावको प्रचारप्रसारका क्रममा आचासंहिता विपरीतका कार्य भइरहेको भन्दै आचारसंहिताको पूर्ण पालना गर्न प्रमुख सात राजनीतिक दलसँग आग्रह गरेको छ । आयोगले बुधबार कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिताको पूर्ण पालना गर्नरगराउन आग्रह गरेको हो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*