राजपाका महामन्त्री श्रीवास्तव पार्टी परित्याग गरी नेपाल लोकतान्त्रिक फोरममा प्रवेश
पर्साको वीरगन्ज महानगरपालिकाको प्रमुख पदको टिकट पार्टीले नदिएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवं केन्द्रीय प्रवक्ता विमलप्रसाद श्रीवास्तवले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
वीरगन्जको कुम्हालटोमा रहेको निजी निवासमा मंगलबार विषेश भेला बोलाई नेता श्रीवास्तवले पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
उहाँसंगै राजपाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित विभिन्न पदमा रहेका सयौँ नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
श्रीवास्तवले केन्द्रीय नेतृत्वले नेता कार्यकर्ताको उचित मूल्यांकन नगरी तेस्रो चरण अन्तर्गत हुने स्थानीय तहको चुनावका लागि टिकट वितरण गरेकाले पार्टी परित्याग गरेको दाबी गर्नुभयो ।
उहाँ विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्नुभएको छ । उहाँले यो पार्टीबाट आफूले वीरगन्ज महानगरपालिकाका प्रमुख पदमा उम्मेदवारी दिने जानकारी समेत दिनुभयो ।
यो पदका लागि नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारसँग सहमति भएको बताउँदै नेता श्रीवास्तवले पर्साको ४७६ वटै पदका लागि बुधबार निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउने जानकारी दिनुभयो । रासस