सोमबारदेखि मौसममा क्रमिक सुधार आउने
मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली हुनुका साथै भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार राती देखि सक्रिय भएको उक्त वायुको प्रभावले आज पनि देशभर वर्षा हुने मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली भएको छ भने अधिकांश स्थानमा वर्षा भइरहेको छ । आइतबार देशैभर वर्षा हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षा हुने मौसमविदको भनाइ छ ।
आज तुलनात्मक रुपमा पूर्वी क्षेत्रमा कम वर्षा हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने मौसमविदले जानकारी दिएका छन् ।