लगातारको वर्षाका कारण इटहरीमा ६, बाँकेमा ४, सिन्धुलीमा ४,मोरङमा २ जनाको ज्यान गयो, मकवानपुरमा पहिरोमा एकजना पुरिए
शुक्रबार बिहानदेखिको लगातारको वर्षाका कारण देशक विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोमा परि १६ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी सुनसरीको इटहरीमा बाढीका कारण ६ जनाको मृत्यु भएको छ भने बाँकेमा ४ जनाएको ज्यान गएको छ ।
यस्तै सिन्धुलीमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मोरङमा खोलाले बगाउँदा दुईजनाको ज्यान गएको छ ।
बाढीका कारण इटहरीमा ५ र तरहरामा १ जनाको मृत्यु भएको हो । बाढीले इटहरी ३ गैरीगाउँका ३० वर्षकी माला साह, उहाँकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भइ हाल इटहरी ४ बस्ने माला राईका तीन वर्षका छोरा रुपेस राई र ८ वर्षकी रुपसनी राईको ज्यान गएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै घरमा पानी पसेर इटहरी ४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका एक बृद्धको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै अबिरल वर्षापछि आएको बाढीले घर भत्किँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ लालापुरमा एकैघरका तीनजना बालिकाको ज्यान गएको छ ।
कमिलाल थारुका १२, ९ र ७ वर्षका छोरीको घर भत्किँदा च्यापिएर ज्यान गएको हो । कमिलालकी श्रीमती बेपत्ता रहेको बताइएको छ । सोही स्थानको मकैबारीमा एक पुरुषको शव फेला परेको छ । बाढीबाट जोगिन घरको छतमा बसेका उनीहरु घर नै भत्केपछि च्यापिएका हुन् ।
यता, मकवानपुरको भिमफेदी गाउँपालिका–८ ईपा पाखाटोलमा गएको पहिरोमा एकजना पुरिएका छन् । शनिबार बिहान ६ बजे गएको पहिरोमा पुरिएकी स्थानीय बासिन्दा मिठु दानीको अझै पनि उद्धार हुन सकेको छैन । उहाँको अवस्था थाहा हुन सकेको छैन । पहिरोबाट उद्धार गरिएका अर्का एकजना घाइते छन् । पाखाटोलका कृष्णबहादुर दानीको घर पहिरोले पुरिएको हो ।
यसैबिच, तराईका धेरै भूभागमा डुबानको खतरा अझै रहेको भन्दै बाढी पूर्वानुमान शाखाले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
पूर्वको इलाम, झापा, मोरङ,सुनसरी,सप्तरी, उदयपुर र धनकुटा, मध्य क्षेत्रको रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तु तथा पश्चिमको कञ्चनपुर, कैलाली र बर्दियाका नदीमा पानीको सतहले खतराको तह पार गर्न सक्ने भएकाले सुरक्षित भएर बस्न शाखाले आग्रह गरेको हो ।
शाखाका अनुसार मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वी राप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा, मछेली, मोहना, बबई लगायतका नदीमा शनिबार बेलुका सम्म नै उच्च जोखिम छ ।
नदी तथा खहरे खोलमा आएको बाढी गाउँ पस्दा पूर्वका झापा, मोरङ सुनसरी, सिरहा र सप्तरीका धेरै क्षेत्र डुबानमा परेका छन् । यस्तै पश्चिमका बाँके, बर्दिया, दाङ सहितका जिल्लामा पनि बाढीले जनजीवन प्रभावित भएको छ ।