इटहरीमा बाढीले बगाएर ६ जनाको मृत्यु, सप्तकोशीका ५६ मध्ये ३४ ढोका खोलियो

छहारी संवाददाता
साउन २८, २०७४

शुक्रबार बिहानदेखिको लगातारको वर्षाका कारण सुनसरीको इटहरीमा टेङ्ग्रा खोला र बुढी खोलामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । बाढीका कारण इटहरीमा ५ र तरहरामा १ जनाको मृत्यु भएको हो ।
बाढीले इटहरी ३ गैरीगाउँका ३० वर्षकी माला साह, उहाँकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भइ हाल इटहरी ४ बस्ने माला राईका तीन वर्षका छोरा  रुपेस राई र ८ वर्षकी रुपसनी राईको ज्यान गएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै घरमा पानी पसेर इटहरी ४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका एक बृद्धको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाढीले नेपाल टेलीकमको सेवा समेत अबरुद्ध छ भने इटहरी क्षेत्रमा विद्युत सेवा समेत प्रभावित भएको छ । सडक पूरै पानीले ढाकेको छ भने इटहरीमा रहेको नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुबानमा परेको छ ।  
यसैबीच, लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढी रहेको छ । बिहानको मापन अनुसार सप्तकोशी नदीमा प्रतिसेकेण्ड २ लाख ६९ हजार २ सय ५० क्युसेक पानी बहेको कोशी ब्यारेजले जानकारी दिएको छ । सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*