बारा पर्सा औद्योगिक कोरिडोरमा विद्युत् आपूर्तिमा अनियमितता, त्यस क्षेत्रका अधिकांश उद्योग रुग्ण बन्दै

छहारी संवाददाता
साउन २७, २०७४

बारा पर्सा औद्योगिक कोरिडोरमा विद्युत् आपूर्तिमा अनियमितता भएको भन्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आपत्ति जनाएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका संयोजक हरि गौतमद्धारा जारी विज्ञप्तीमा दैनिक पटक पटक विद्युत् जाने र आउने हुँदा भोल्टेजको उतार चढावले उद्योगका मेशिनरी सामान खराब हुने अवस्था आएको भन्दै सङ्घले प्राधिकरणको ध्यानाकर्षण समेत गराएको छ ।

यस विषयमा स्थानीय तहमा जानकारी गराइएको भए पनि समस्या समाधान गर्ने जिम्मेवारी केन्द्रीय तहको हो भनी स्थानीय स्तरबाट पन्छिने काम भइरहेको विज्ञप्तीमा उल्लेख छ ।
विगत १० वर्षदेखि विभिन्न समयमा भएका बन्द,हड्ताल, मजदुर समस्या र अनियमित विद्युत् आपूर्तिका कारण यस क्षेत्रका अधिकांश उद्योग रुग्ण हुँदै गएकोले उद्योग बन्द गर्नु पर्ने स्थितिमा पुगेको विज्ञप्तीमा जनाइएको छ ।

समस्या समाधानका लागि त्यस क्षेत्रमा छुट्टै औद्योगिक फिडरको माग गरी जडान गरिएको भए पनि औद्योगिक फिडरहरुमा ग्राहस्थ फिडरको तुलनामा बढी लोडसेडिङ्ग भइरहेको उद्योगीहरुले गुनासो गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ – "तत्कालिन ऊर्जा मन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले स्थानिय औद्योगिक प्रतिष्ठानहरुलाई लोडसेडिङ्ग मुक्त गराउने र रक्सौल–परवानीपुर ट्रान्समिशन स्टेशनबाट यस क्षेत्रमा थप ५० मेगावाट विद्युत् दिने भनी गरिएको घोषणा व्यवहारमा लागू भएन।"

"नेपालको औद्योगिक कोरिडोरहरु मध्ये बारा पर्सा औद्योगिक कोरिडोर सबैभन्दा महत्वपूर्ण कोरिडोर हो।"

तसर्थ उद्योग बन्द हुने अवस्था आएकोले यस क्षेत्रको लागि विशेष योजना बनाई नियमित विद्युत् आपूर्तिको लागि सम्बन्धित निकायमा आवश्यक पहलको लागि विज्ञप्ति मार्फत् अनुरोध गरिएको छ ।

    

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*