भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी
भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उमेद्दवार रेणु दाहाल विजयी हुनु भएको छ ।
नेकपा एमालेका मेयर उम्मेदवार देबी ज्ञवालीलाई हराउँदै रेणु भरतपुरको मेयर पदमा निर्वाचित हुनु भएको हो । यसबारे निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने केहिबेरमा गर्दैछ ।
भरतपुर महानगरपालिकामा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । तर, परिणाम भने झण्डै तीन महिनापछि मात्र आएको हो । भरतपुर १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो ।
मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते शनिबार पुनः मतदान गराएको थियो ।
मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मत अन्तरले अघि थिए ।
वडा नम्बर २० मा ज्ञवालीले ५६३ मत तिरेका थिए । २२१ मतको सामान्य अग्रता लिएर वडा नम्बर २० मा प्रवेश गरेका ज्ञवालीको अग्रता १६ सय मत गणना गरेपछि सकिएको थियो ।