भरतपुर १९ मा शुक्रबार पुनः मतदान हुँदै
भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः मतदान हुँदैछ । पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो ।
मेयरका लागि माओवादी केन्द्र–कांग्रेस गठबन्धनका तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मैदानमा छन् । महानगरका जम्मा २९ मध्ये २७ वडाको परिणाम आइसकेको छ । वडा नम्बर १९ मा शुक्रबार मतदान भएपछि वडा नम्बर २० को मत पनि एकैचोटि मतगणना हुनेछ ।
भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगन्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर मावि बखानपुरमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् ।
मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मतदानस्थलको सय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताउनु भयो ।
जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर–१९ को मतदानको विषयमा सर्वोच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि शुक्रबार निर्वाचन हुन लागेको हो । केहिले सर्वोच्चको यो निर्णयलाई न्यायोचित भनेका छन् भने केहिले गलत नजिर बस्ने भन्दै बिरोध गरेका छन् । त्यसैले पनि भरतपुर–१९ को पुनः मतदानलाई महत्वका साथ हेरिएको छ ।