भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि प्रतिबन्ध

छहारी संवाददाता
साउन १७, २०७४

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि प्रतिबन्ध लगाएको छ । भेनेजुएलामा भएको विवादास्पद चुनावपछि अमेरिकाले मदुरो तानाशाह रहेको भन्दै उहाँमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि अमेरिकामा रहेको मदुरोको सबै सम्पत्ति फ्रिज भएको छ ।
यस्तै अब कुनै पनि अमेरिकी व्यवसायिक संस्था तथा व्यक्तिले मदुरोसँग कारोबार गर्न पनि पाउने छैनन् । भेनेजुएलामा आइतबार विरोध प्रदर्शनकाबिच संविधानसभा चुनाव भएको थियो । प्रदर्शनको क्रममा कम्तिमा १० जनाको ज्यान गएको थियो ।

राष्ट्रपति मदुरोले आइतबारको चुनाव परिवर्तनका लागि रहेको र प्रतिबन्धले आफूलाई कुनै फरक नपर्ने बताउनुभएको छ । सोमबार टेलिभिजन सम्बोधनको क्रममा मदुरोले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धले डोनाल्ड ट्रम्पको घृणाको स्वरुप देखिएको बताउनुभयो ।
भेनेजुएलाको नयाँ संविधानसभालाई संविधान पुनर्लेखन गर्ने अधिकार छ । यस्तै विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रियसभालाई विघटनको घोषणा गर्ने अधिकार पनि संविधानसभासँग छ ।

आफूहरुले बहिष्कार गरेको संविधानसभा चुनावमा ८८ प्रतिशत मतदाता सहभागी नभएको विपक्षी गठबन्धनको दाबी छ । तर भेनेजुएलाको निर्वाचन आयोगले भने ४१।५ प्रतिशत मत खसेको दाबी गरेको छ ।
विपक्षी गठबन्धनले आफूहरुले संविधानसभालाई नमान्ने बताएका छन् । भेनेजुएलामा राष्ट्रपति मदुरो र विपक्षीबिचको तनावका कारण राजनीतिक अस्थिरता बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*