नेपाल पत्रकार महासंघको महाधिवेशन फेरि सार्ने षडयन्त्र हुँदैछः नेपाल प्रेस युनियन
आगामी भदौ ४ र ५ गतेका लागि तोकिएको नेपाल पत्रकार महासंघको महाधिवेशन फेरि सार्ने षडयन्त्र भइरहेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।
महाधिवेशन नजिकिनै लाग्दा महासंघ नेतृत्वले जथाभावी शाखालाई मान्यता दिने,आफू र आफ्नो आस्था निकट रहेका पत्रकारलाई सदस्य र पार्षद बनाउने काम गरिरहेको युनियनका महासचिव अजयबाबु शिवाकोटीले निकालेको विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्तिमा केन्द्रीय समितिको जानकारी बिना सौर्य दैनिकमा प्रतिष्ठान शाखा र पर्यटन पत्रकार समूहको नाममा शाखा खोलेको तथा विभिन्न प्रतिष्ठानमा सदस्य संख्या थप्दै पार्सद बढाउने काम तीव्र बनाएको आरेप लगाइएको छ । यस्ता गतिविधिले महासंघ नेतृत्व आफ्नो कार्यकाल बढाउने प्रपञ्च गरिरहेको पनि विज्ञप्तिमा आरोप छ ।
विज्ञप्तिमा क्रियाशिल पत्रकारले महासंघको सदस्यता नपाउने अवस्था आउँदा पनि इलाम, भोजपुर र रसुवा शाखा तथा कारोवार प्रतिष्ठान, शाखाको समस्या समाधान गर्ने सहमति कार्यान्वयन नगरिएको तर नयाँ शाखा र प्रतिष्ठान शाखालाई मान्यता दिने काम गरिनुले भदौ ४ र ५ मा गर्ने भनिएको महाधिवेशन फेरि पनि सार्नेसक्ने शंका उत्पन्न भएको भन्दै ध्यानाकर्षण समेत गराइएको छ ।