आइसिसी यू–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाललाई सफलता

छहारी संवाददाता
असार २१, २०७४

आइसिसी यू–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीका लागि भारतमा रहेको नेपाली युवा टोलीले अभ्यास खेलमा फ्रेन्ड्स स्पोर्टस् एकेडेमीलाई १ सय २१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
फ्रेन्ड्स एकेडेमीले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको नेपालले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २ सय ५० रन बनाएको थियो । जावाफी व्याटिङ गरेको फ्रेन्ड्स एकेडेमी ३२ ओभरमा १ सय २९ रनमै अलआउट भएको हो । गौतम बुद्ध युनिभर्सिटी एकेडेमीको आउटफिल्ड चिसो भएका कारण खेल ४० ओभरमा छोट्याइएको थियो ।
अनिल साह र प्रनित थापामगरले अर्धशतक प्रहार गरेपछि नेपालको इनिङ मजबुत बनेको थियो । अनिल र प्रनितले पाचौँ  विकेटका लागि ८० रनको साझेदारी गरे । प्रनितले नेपालका लागि सर्वाधिक रन बटुल्ने क्रममा ८७ रन जोडे । त्यसक्रममा उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, अनिलले आक्रामक ब्याटिङ गर्ने क्रममा ५० रनको योगदान दिए । ३४ बल सामना गरेका अनिलले २ चौका र ३ छक्का प्रहार गरे ।
आसारको अन्तिम साता सिंगापुरमा हुने छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले अझै एक साता भारतमा प्रशिक्षण गर्नेछ । आगामी वर्ष न्युजिल्यान्डमा हुने यू–१९ विश्वकप प्रतियोगिताका लागि हुने एसिया छनोटमा नेपाल सहित अफगानिस्तान, मलेसिया र आयोजक सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा शीर्ष स्थान हात पार्ने एक टोलीले विश्वकप खेल्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*