दोस्रो चरणको निर्वाचन आउन २ दिन बाँकी, चुनावी प्रचारप्रसारमा पूर्ण बन्देज

आचारसंहिता उल्लंघन भए १ लाख जरिवाना, उम्मेदवारी रद्द पनि हुन सक्ने
छहारी संवाददाता
असार १२, २०७४

 असार १४ गते  हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारलाई प्रचार प्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न पूर्ण रूपमा बन्देज रहेको निर्वाचन आचारसंहिता उल्लेख छ  ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदानको समय सुरु हुनु ४८ घण्टाअघिबाट नै मौन अवधि सुरु हुने भन्दै सो अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसार लगायतका कुनै पनि गतिविधि गर्न नपाउने बताए ।
यस्तै, निर्वाचनको मौन अवधिभित्र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समेत कडा निगरानी गरिने आयोगले जनाएको छ । सो समयमा मतदातालाई प्रभावित पार्ने गरी कुनै पनि दल तथा दलका उम्मेदवारहरूको पक्षपोषण हुने खालका समाचार तथा विज्ञापनहरू प्रसारण तथा प्रकाशन गर्न पाइने छैन भने सामाजिक सञ्जालहरूमा समेत उम्मेदवारहरूको पक्ष तथा विपक्षमा कुनै पनि किसिमका समाग्री राख्न तथा लाइक कमेन्ट गर्न नपाइने आयोगको भनाइ छ ।
आचारसंहिता उल्लंघन भए आयोगले सुरुमा सचेत गराउनेछ । पुनः बेवास्ता भए १ लाख जरिवाना देखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*