शंखमुलका अनुभव सुब्बा खुला पौडी प्रतियोगितामा तीन स्वर्ण प्राप्त गर्न सफल

छहारी संवाददाता
असार १०, २०७४

रंजन भट्टराइ

शंखमुलका अनुभव सुब्बाले ओलम्पिक डेको अवसरमा आयोजित उमेर समूह तथा खुला पौडी प्रतियोगितामा तीन स्वर्ण प्राप्त गर्न सफल भएका छन् । उनले ५० मि. बटरफ्लाई, ब्याकस्टोक र फ्रि स्टायलमा स्वर्ण पाएका हुन् ।

अनुभवले ५० मि. बटरफ्लाई २९.०० सेकेन्ड, ब्याकस्टोकमा ३४.५४ सेकेन्ड र फ्रिस्टायलमा २७.५३ से.मा दुरी पुरा गर्दै तीन स्वर्ण पाएका हुन् । पुरुषको बटरफ्लाईमा दोश्रो स्थानमा देवेश मानन्धर र तेश्रो स्थानमा राजर्षीका मौलिक महर्जन रहे । यस्तै ब्याकस्टोकमा नितेश मानन्धर र देवेश मानन्धरले रजत र कास्य पाए । फ्रिस्टायलमा द ब्रिटिश स्कुलका देवेश मानन्धर र शुभम श्रेष्ठले कास्य पाए ।

 नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा लिंकनकी आयुश्मा तुलाधरले ५० मिटर बटरफ्लाई र फ्रिस्टायलमा ३२.३१ सेकेन्डका साथ दुई स्वर्ण पाईन् । महिला तर्फ बटरफ्लाईमा राजर्षीकी अनुसिया तन्डुकार र निसर्गकी समिरा शोभा थापाले रजत र कास्य पाए । यस्तै फ्रिस्टायलमा जोन डेवीकी डुवाना लामा र राजर्षीकी अनुसिया तन्डुकारले रजत र कास्य पाए ।

सातदोवाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको ५० मि. ब्याकस्टोकको महिला तर्फ निशर्ग बाटिकाकी समिरा शोभा थापाले ४६.१६ से.का साथ स्वर्ण पाईन् । निर्शगकै सौम्य ढकाल र नितिशा बस्नेतले रजत र कास्य पाए ।

५० मि. ब्रेष्ट स्टोकको पुरुष तर्फ किरण कार्कीले ३४.१६ से.का साथ स्वर्ण, शुभम् श्रेष्ठले रजत र मेरिडियनका बैदज्ञ राज जोशीले कास्य पाए । यस्तै महिला तर्फ जोन डेवीकी डुवाना लामाले ४०.२५ सेकेन्डका साथ स्वर्ण, प्रिमियरकी उपास्ती महर्जनले रजत र सोनिरा बिष्टले कास्य पाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*