हेटौडामा रहेको सामुदायिक तथा निजी विद्यालयको अनुगमन

बाल जागृतीमा छात्राका लागि महिनाबारी हुदा आवश्यक पर्ने प्याड र प्याड फेर्नको लागि छुट्टै कोठाको व्यवस्था
छहारी संवाददाता
असार ५, २०७४

नेपाल उपभोक्ता, महिला तथा बालबालिका संरक्षण समुहको पहलमा हेटौडामा रहेको सामुदायिक तथा निजी विद्यालयको चमेना गृह (क्यान्टिन) मा सोमबार अनुगमन गरिएको छ ।
हेटौडाको सिद्धार्थ मा.वि, बाल जागृती इग्ंिलस स्कुल र रिलायन्स स्कुलमा अनुगमन गरिएको हो । विद्यालयको क्यान्टिनको अवस्था, शौचालय, खानेपानी, सरसफाई लगायत विषयमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा हेटौडा २ मा रहेको सिद्धार्थ मा.विको क्याटिनबाट लेभल नभएको ४० पिस सुजीको पप जफत गरिएको छ । बिद्यालय भित्रै पानी पुरी चटपटे, जीवन लगायतका अखाद्य बस्तु समेत बिक्री गरेको पाइएको छ ।
त्यस्तै बाल जागृती इग्ंिलस स्कुलको क्यान्टिनमा सिधै हातैले झिकेर चाउमिन विक्री गरिरहेको भेटेपछि अनुगमन टोलीले सचेत गराएको छ ।
यद्यपी बाल जागृती इग्ंिलस स्कुलमा पिउने पानीको राम्रो व्यवस्था गरिएको पाइएको छ भने छात्राका लागि महिनाबारी हुदा आवश्यक पर्ने प्याड र प्याड फेर्नको लागि छुट्टै कोठाको व्यवस्था गरिएको पाइएको छ ।
यस्तै रिलायन्स स्कुलको क्याटिन अव्यवस्थित पाइएकोले व्यवस्थित गरेर संचालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, खाद्य विशेषज्ञ, महिला तथा बालबाललिका कार्यालयका प्रतिनिधि, नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समुह र संचारकर्मीको टोलिले संयूक्त रुपमा अनुगमन गरेको हो ।
यो पहिलो चरणको अनुगमनका क्रममा भेटिएका त्रुटिहरु सच्याइएको छ वा छैन पुनः अनुगमन गरीने र अन्य स्थानहरुमा पनि अनुगमनलाई निरन्तरता दिने नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समुहकी अध्यक्ष सपना कंडेलले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*