नेपालमा १६ लाख बालश्रमिक रहेको सरकारी तथ्याङक, ६ लाख २१ हजार बालबालिका जोखिमपूर्ण काममा संलग्न

हेटौंडाको वडा नम्बर ४ बालश्रममुक्त वडा घोषणा
छहारी संवाददाता
जेष्ठ ३०, २०७४

नेपालमा १६ लाख बालश्रमिक रहेको सरकारी तथ्याङकले जनाएको छ । विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा एक प्रेस विज्ञप्ती निकाल्दै श्रम विभागले नेपालमा ६ लाख २१ हजार बालबालिका जोखिमपूर्ण काममा संलग्न रहेको जनाएको हो ।
वि।स २०७२ सालको विनासकारी भूकम्पले प्रभावित क्षेत्रमा १० लाख बालबालिका विद्यालय जानबाट बञ्चित भएका थिए । नेपालको बालश्रम नियमित तथा निषेधित गर्ने ऐन २०५६ र बालश्रम नियमावली २०६२ ले बालश्रमको प्रयोगलाई कानूनी अपराधको रुपमा लिएको छ । 

विज्ञप्तीमा सरकारी प्रयासले मात्रै बालश्रम अन्त्य नहुने भन्दै बालश्रम अन्त्य गर्न सरोकारवालालाई अपिल समेत गरेको छ ।
यसैबिच, सोमबार विश्व बालश्रम विरुद्धको दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयोजनामा बृहत र्याली सहित हेटौंडाको स्कूलरोड चोकमा कोणसभा गरी वडा नम्बर ४ लाई बालश्रमुक्त वडाको घोषणा गरिएको हो ।
हेटौंडाको वडा नम्बर ४ बाट निकालिएको र्याली विभिन्न स्थानको परिक्रमा गर्दै स्कूलरोड चोक पुगेर कोणसभामा परिणत भएको थियो  । कार्यक्रमका लागि विभिन्न विद्यालयका विद्यार्थीहरु, संघसंस्था तथा टोल विकास संस्थाका पदाधिकारीहरु ब्यानर सहित उपस्थित भएका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, सांसद अनन्त पौडेल, भिमप्रसाद तिमल्सिना, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, नेकपा एमालेकी जुनेली श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*