भरतपुरमा मतगणना वा मतदान के होला?
भरतपुर १९ नं वडामा मतपत्र च्यातिएपछि सुरु भएको विवादमा निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णयमा आजदेखि सर्वोच्चमा बहस हुँदैछ । जेठ २२ गते न्यायाधीश चोलेन्द्रशमशेर जवराको एकल इजलासले पुनः मतदानको निर्णय ६ दिनका लागि रोकेको थियो ।
आज दुबै पक्षसंगको छलफलपछि सर्वोच्चले निर्णय दिने सम्भावना छ । भरतपुर वडा नम्बर १९ का वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।
रिटमा निर्वाचन आयोग, आयोगको अनुगमन समिति, जिल्ला निर्वाचन अधिकृतको कार्यालय लगायतलाइ बिपक्षी बनाइएको छ । सर्वोच्चले दुबैपक्षलाई छलफलमा बोलाउँदै पुनः निर्वाचन गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए ।
त्यसपछि आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको भन्दै स्थानीय तह निर्वाचन ऐन अनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।