चौथो पटक प्रधानमन्त्री बन्नु भएका देउवाको जीवनी
२००३ साल जेठ ३१ गते डडेल्धुराको अशिग्राम–५ रुवाखोलामा जन्मिनु भएका देउवा २०२० सालदेखि कांग्रेसको राजनीतिमा होमिनु भएको हो । देउवा २०२८ सालमा नेविसंघको सभापति बन्नुभयो ।
२०४८ सालमा डडेल्धुराबाट सांसद जिते पश्चात सोही आमचुनावबाट २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभयो भने २०५२, २०५८ र २०६१ सालमा प्रधानमन्त्री बन्नुभयो
तीन कार्यकालमा गरी तीन वर्ष दुई महिना प्रधानमन्त्री बनिसक्नु भएका देउवा एकपटक मन्त्री र चारपटक प्रधानमन्त्री बन्न सफल हुनु भएको छ । देउवाले २०५१, २०५६ डडेल्धुराबाट निर्वाचन जित्नु भएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा देउवा डडेल्धुरा र कञ्चनपुर ४ बाट विजयी हुनुभयो २०७० सालको दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली ६ बाट निर्वाचित हुनुभयो ।
बाबु श्रीप्रसाद सिंह र आमा दौपद्रीको कोखबाट जन्मिनु भएका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नु भएको छ ।
डोटी राज्यकालमा चर्चित बनेका क्षेत्रीय राजपुत (ठकुरी) देउवाहरु यसै कुलका पूर्वजहरु थिए । प्रशाद सिंह देउवा रजवारका दुई श्रीमती डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र डोटी बोगटानका ठकुरी बम कुलकी छोरी द्रोपती (बम) देउवाबाट ३/३ छोराहरु गरेर ६ छोराहरु जन्मिए । यी मध्ये शेरबहादुर देउवा जेठा हुनुहुन्छ । देउवाका भाइहरुमा लोकबहादुर देउवा, गणेश बहादुर देउवा, प्रेम बहादुर देउवा, ललित बहादुर देउवा र बल बहादुर देउवा छन् । ६ भाइ मध्ये जेठा शेरबहादुर मात्र राजनीतिमा आउनु भयो । देउवाकी श्रीमती आरजु पनि कांग्रेस सांसद हुनुहुन्छ । देउवाका एकमात्र छोरा जयबिर देउवा बेलायतमा अध्ययनरत छन् ।
मंगलबार संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा ३८८ मत ल्याएर निर्वाचित हुनु भएका देउवाले दोस्रो चरणको स्थानीय निर्वाचन, संविधान संसोधन गर्दै आगामी ७ माघसम्म प्रदेश र संसदको निर्वाचन गराउने विषय आफ्नो प्राथमिकतमा भएको बताउनु भएको छ ।
सपथ बुधबार साढे एक बजे
देउवाले बुधबार दिउसो प्रधानमन्त्री पदको सपथ लिनु हुनेछ । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार देउवाले बुधबार अपरान्ह शीतलनिवास महाराजगञ्जमा ४० औं प्रधानमन्त्री रुपमा सपथग्रहण गर्नु हुनेछ । देउवाले सपथ लगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी समेत गर्नु भएको छ । असार १४ गते तोकिएको दोस्रो चरणको निर्वाचनपछि मात्र मन्त्रिमण्डललाई विस्तार गर्ने देउवाको तयारी छ ।