हेलिकप्टर दुर्घटनाको गलत सूचना दिने एक जना प्रहरीको फन्दामा
काभ्रेमा हेलिकप्टर दुर्घटना भयो भनी फोन गरेर गलत सूचना दिएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको कन्ट्रोल रुपमा फोन गरी गतल सूचना दिने काठमाडौं विश्वविद्यालयका कर्मचारी स्वदेश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले पक्राउ गरेको हो । बुधवार दिउँसो १ः०० बजे धुलिखेल नगरपालिकामा पर्ने खड्बु नजिकैको जंगलमा हेलिकप्टर दुर्घटना भयो भन्दै श्रेष्ठले गलत सूचना प्रहरीलाई दिएका थिए ।
श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धानपछि छोडेको छ । पक्राउपछि उनलाई करिब तीन घण्टा नियन्त्रणमा राखिएको थियो । अब आइन्दा यस्तो गलत सूचना नदिने भन्दै माफी मागेपछि श्रेष्ठलाई छाडीएको प्रहरीले जनाएको छ ।
हेलिकप्टर दुर्घटना भयो भन्ने सूचना पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो तर त्यस ठाउँमा कुनै पनि घटना भएको नदेखिएपछि प्रहरीको कन्ट्रोल रुममा फोन गर्नेको कल डिटेल चेक गरे पश्चात् गलत सूचना दिने स्वदेश श्रेष्ठ भएकाले उनलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी वढाएको प्रहरीले बताएको छ । प्रहरीलाई आफूले गलत सूचना दिएको नभई धुँवाको मुस्लो आकाशमा देखेकाले हेलिकप्टर दुर्घटना भएको हो कि भनेर प्रहरीलाई तत्काल फोन गरी खबर गरेको श्रेष्ठले प्रहरी समक्ष बताएका थिए ।
स्रोत : नयाँ पत्रिका