इराकको मोसुल शहरमा रहेका नागरिकको जीवन खतरामा : संयुक्त राष्ट्रसंघ
इराकको मोसुल शहरमा रहेका सर्वसाधारण नागरिकको जीवन खतरामा रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । मोसुलमा इराकी सेनाले गएको अक्टोबरदेखि बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान चलाउँदै आएको छ ।
मोसुललाई आइएसको कब्जाबाट हटाउने अभियान अन्तिम चरणमा पुग्दै गर्दा त्यहाँका सर्वसाधारण नागरिकको अवस्था थप कष्टकर र खतरा पूर्ण बन्दै गएको राष्ट्रसंघले जनाएको छ । आइएसका लडाकुले अहिले सर्वसाधारण नागरिकलाई निशाना बनाएकाले त्यहाँका बासिन्दा गम्भीर खतरामा रहेको इराकका लागि राष्ट्रसंघीय मानवीय सहायता संयोजक लिज ग्राण्डेले बताउनुभएको बिबिसीले उल्लेख गरेको छ ।
मोसुलमा पहिलेदेखि नै पानी तथा विद्युतको समस्या रहेकोमा अहिले त्यहाँका नागरिकलाई आइएसले निशाना बनाउँदा थप समस्या भएको छ । अक्टोबरमा सेनाले आइएस विरुद्धको कारवाही अभियान सुरु गरेदेखि त्यहाँबाट लाखौं मानिस विस्थापित भएका छन् ।
कारवाही अभियानको आउँदो चरण नागरिकका लागि थप जोखिम पूर्ण हुने भन्दै ग्राण्डे चिन्ता व्यक्त गर्नुभएको छ । मोसुलबाट बाहिर निस्कने प्रयासमा रहेका परिवार बढी जोखिममा रहेको उहाँको भनाई छ ।
यसैबिच इराकी सेनाले शनिबार आइएस विरुद्ध गरिएको नयाँ कारवाहीमा महत्वपूर्ण सफलता मिलेको बताएको छ । पुरानो मोसुल शहरमा रहेका विद्रोहीका गढलाई हटाउने प्रयासमा आफूहरु अघि बढेको सेनाको दाबी छ ।