“रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार २०७४” पत्रकारद्वय खड्का र थापालाई प्रदान
प्रेस सेन्टर नेपाल मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको “रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार २०७४” पत्रकारद्वय विदुर खड्का र अन्जली थापालाई प्रदान गरिएको छ ।
सहिद रुद्र पाख्रिन र कृष्ण सेन ‘इच्छुक’को सम्झनामा स्थापना गरिएको पुरस्कार मकवानपुरकी पत्रकार अन्जली थापा र बाराका पत्रकार विदुर खड्कालाई प्रदान गरिएको हो । कृष्ण सेनको स्मृती दिवसको अवसरमा प्रेस सेन्टर मकवानपुरले थापा र खड्कालाई जनही नगद रु ५ हजार सहित पुरस्कृत गरेको हो ।
कार्यक्रममा बोल्दै पत्रकार खड्काले पत्रकारले आवाज विहिनहरुको आवाज लेख्नुपर्ने बताउनुभयो । उहाँले प्राप्त गर्नुभएको नगद रु ५ हजार सामाजिक कार्यमा लगाउने बताउँदै प्रेस सेन्टरलाई नै पुनः हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा रुद्र पाख्रिनकी जिवनसंगीनी राममाया पाख्रिनलाई सम्मान गरिएको थियो ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रका संञ्चार विभाग प्रमुख कमान सिंह पाख्रिन ‘पृथक’, प्रकाश पाण्डे, स्वतन्त्र पत्रकार संघका सुरेश श्रेष्ठ, प्रेस चौतारीका प्रकाश दाहाल, प्रेस युनियनका रुपेश दुलाल, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भानुभक्क्त आचार्य, कौशल पाण्डे, पत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य प्रताप विष्ट, निवर्तमान उपाध्यक्ष गिरिजा अधिकारी, पत्रकार महासंघका अध्यक्ष हरि हुमागाँई लगायतले बोल्नु भएको थियो ।