मेसीको जेल सजाय सदर,मेसी र उनका बुबाले २१ महिना जेलमा बस्नुपर्ने

छहारी संवाददाता
जेष्ठ ११, २०७४

अदालतले मेसी र उनका बुबालाई २१ महिना जेलमा बस्नुपर्ने फैसला गरे पनि आपराधिक घटनामा संलग्न नभएका व्यक्ति जेल जानु नपर्ने कानुनमा उल्लेख

स्पेनको सर्वाेच्च अदालतले बार्सिलोनाका अर्जेन्टायन स्ट्राइकर लियोनल मेसीमाथि सुनाइएको २१ महिनाको जेल सजाय बुधबार सदर गरेको छ । गत वर्ष बार्सिलोनाको एक अदालतले मेसी तथा उनका बुबा जोर्गे मेसीले कर छल गरेको ठहर गर्दै २१ महिनाको जेल सजाय तथा ४७ करोड रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । मेसीको आर्थिक कारोबार उनका बुबा जोर्गेले हेर्ने गरेका छन् । फैसालाविरुद्ध अपिल गरे पनि सर्वाेच्च अदालतले धेरै कमाइ गर्ने जो–कोही पनि करको विषयमा जानकार हुनुपर्ने बताउँदै फैसला सदर गरेको हो । यद्यपि, मेसीले भने आफूलाई कर छलीबारे थाहा नभएको बताउँदै आएका छन् ।

३ करोड पाउन्ड छली
अदालतमा मेसी र उनका बुबाले सन् २००७–०९ सम्म कर छलेको सम्बन्धमा मुद्दा चलेको थियो । अदालतका अनुसार दुवैले दुई वर्षभित्र ३ करोड ४० लाख पाउन्ड कर छलेका थिए । गत वर्ष भएको सुनुवाइका दौरान मेसी अदालतमै हाजिर भएका थिए । अदालतले दुई वर्षसम्म सुनुवाइ गर्दै मुद्दाको फैसला गरेको थियो । मेसीले अदालतमा सुनुवाइका क्रममा आफू र बुबाले स्पेनिस सरकारलाई कर नछलेको दाबी गरेका थिए । तर, अदालतमा बुझाइएका रिपोर्टमा मेसी र उनका बुबाले तस्बिर कपिराइटबाट प्राप्त रकम उरुग्वे र बेलिजमा जम्मा गरेको पुष्टि भएको थियो । पानमा पेपर्सले गत वर्ष सार्वजनिक गरेको छलीको रिपोर्टमा पनि बुबा जोर्जेको नाम उल्लेख थियो ।

जेल जानु नपर्ने
बार्सिलोनाको अदालतले मेसी र जोर्गेलाई २१ महिना जेलमा बस्नुपर्ने फैसला गरे पनि त्यहाँकै कानुनमा आपराधिक घटनामा संलग्न नभएका व्यक्ति जेल जानु नपर्ने उल्लेख छ । स्पेनको प्रहरी कार्यालयमा मेसी र उनका बुबाविरुद्ध आपराधिक रिपोर्ट दर्ता छैन । त्यस्ता घटनामा संलग्न नभएका व्यक्तिलाई दुई वर्षमा सजाय सुनाउँदा केही शर्त पालन गरे जेल जान नपर्ने नियम छ । यसकारण मेसी जेल पर्दैनन् । तर, अदालतले बोलाएको अवस्थामा भने उपस्थित हुनुपर्छ ।

कर छल्ने मेसी एक्ला होइनन्
कर छलीको आरोपमा दोषी ठहर हुने मेसी एक्ला खेलाडी भने होइनन् । यसअघि बार्सिलोनाका तत्कालीन डिफेन्डर जाभियर मास्चिरानोलाई पनि कर छलीको ठहर गर्दै जेल सजाय सुनाइएको थियो । अर्जेन्टिनाका पूर्वकप्तानसमेत रहेका मास्चिरानोलाई कर छलेको आरोपमा १ वर्ष जेल सजाय तथा ११ लाख डलर जरिवाना गरिएको थियो । बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेमारमाथि पनि अहिले कर छलीको मुद्दा चलिरहेको छ । नेमारले ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोना आबद्ध हुँदा वास्तविक सम्झौता रकम लुकाएर कर छलेको आरोप छ । कर छलीकै आरोपमा बार्सिलोनाका पूर्वअध्यक्ष सान्द्रो रसेल मंगलबार पक्राउ परेका थिए । सन् २०१० देखि २०१४ सम्म बार्सिलोनाका अध्यक्ष रहेका रसेलले नेमारलाई भित्राउने क्रममा कर छली गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*