ललितपुर महानगरमा कांग्रेस विजयी
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी हुनु भएको हो।
महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३ सय २६ मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित हुनुभएको हो। मेयरमा निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाउनु भएको भने एमालेका ब्यन्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गर्नु भयो।
यसैगरी, उपमेयरमा कांग्रेसकी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५ सय ७९ मत अन्तरले पराजित गर्नु भएको छ। उपमेयरमा निर्वाचित गीता सत्यालले १९ हजार ८ सय १९ मत प्राप्त गर्नु भयो भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २ सय ४० मत पाउनु भयो।
ललितपुरका ६ स्थानीय तहमध्ये कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एउटामा जित हासिल गरेको छ।