‘महिनावारीको विषयमा घर—घरमा छलफल आवश्यक’

छहारी संवाददाता
जेष्ठ ९, २०७४

महिलाको मासिक प्रक्रिया महिनावारीको विषयमा घर—घरमा छलफल हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

महिनावारी सरसफाइ दिवस एवम् सामुदायिक रेडियो प्रसारक संघ (सीआइएन) को स्थापना दिवसको अवसरमा आयोजित सञ्चारकर्मीसँगको एक अन्र्तक्रियामा महिनावारी धर्मको नाममा अपवित्र बन्ने गरेको भन्दै यसलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गरिएको छ ।
यस्तै, सञ्चारमाध्यमले महिनावारीका विषयलाई विशेष प्राथमिकताका साथ प्रसारण गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

सो कार्यक्रममा खानेपानी तथा सरसफाइ समन्वय परिषदका निर्देशक गुणराज नेपालले महिनावारी प्रक्रिया मानवलाई जन्मदिने विशेष प्रक्रिया भएको भन्दै यस विषयमा रहेका गलत सोचाइलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले पाठ्यपुस्तकमा समेत महिनावारीको विषय अपूर्ण रहेको भन्दै यसलाई बढाउनुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराबका कार्यकारी निर्देशक डा. रामचन्द्र लामिछानेले महिनावारीबारे व्यक्तिको सोचमा सकारात्मक परिवर्तनको खाँचो रहेको बताउनुभयो ।

उहाँले महिनावारीका विषयमा सामुदायिक रेडियो प्रसारक संघले साताव्यापी कार्यक्रमको समेत आयोजना गर्ने समेत उल्लेख गर्नुभयो ।

यसैगरि, सामाजिक अभियन्ता राधा पौडेलले छाउपडी गोठ नेपालका केही जिल्लामा रहेपनि यो विश्वभर नै रहेको बताउनुभयो । उहाँले बालविवाहको अर्को मुख्य कारण महिनावारी रहेको बताउनुभयो ।

सोही अवसरमा राष्ट्रिय अपाङग महासंघका उपाध्यक्ष टिका दाहालले महिनावारी हुँदा बढी समस्या अपाङ्गता भएका महिलालाई हुने गरेको बताउनुभयो । खासगरी सरकारी कार्यालयहरुमा अपाङग मैत्री शौचालय नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

यस्तै, यूएन वुमनका सरु जोशीले महिनावारीका विषय घरबाटै नै उठाउनुपर्ने बताउनुभयो । उहाँले अझैपनि महिनावारीका विषयमा गलत धारणा रहेको भन्दै परिवर्तनको खाँचो रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*