स्थानीय तहको निर्वाचनमा विभिन्न सञ्चार माध्यममा निर्वाचन आचारसंहिता विपरीत २०५ वटा सामग्री प्रकाशन / प्रशारण

छहारी संवाददाता
जेष्ठ ९, २०७४

काठमाडौँ / प्रेस काउन्सिल नेपालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न सञ्चार माध्यममा निर्वाचन आचारसंहिता विपरीत २०५ वटा सामग्री प्रकाशन / प्रशारण भएको पाइएको जनाएको छ ।

आज यहाँ काउन्सिलले प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचनका समयमा १२७ सञ्चारमाध्यमका २०५ वटा सामग्री आचारसहिंता विपरीत पाइएको जनाएको हो ।

सतसठ्ठी छापामाध्यममा प्रकाशित ११५ सामग्री, ४९ अनलाइनमा प्रकाशित÷प्रसारित ६५ सामग्री, छ वटा टेलिभिजनबाट प्रसारित १३ सामग्री, पाँच वटा रेडियोका १२ सामग्रीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको काउन्सिलका मुख्यअधिकृत झवीन्द्र भुसालले बताउनुभयो ।

काउन्सिलले गत वैशाख १५ गतेदेखि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समिति गठन गरी विभिन्न सञ्चारमाध्यमको अनगुमगन गरेको थियो ।

मुख्य अधिकृत भुसालले सञ्चारमाध्ययमले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेको पाइएको जानकारी गराउनुभयो । काउन्सिलले निर्वाचनको मौन समयावधि अघि, मौनसमयावधि र निर्वाचनपश्चातको अवधिको अनगुमन गरेको थियो ।

लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन माग

उपत्यकाका तीन जिल्लाका पत्रकार महासङ्घ शाखाले आगामी बजेटमा अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गरेका छन् ।

आज महासङ्घका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला शाखाले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै प्रेस काउन्सिलबाट अनलाइनलाई पनि वर्गीकरण गर्ने गरी आगामी बजेटमार्फत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गरेका हुन् ।

ज्ञापनपत्रमा अहिले वितरण भइरहेको पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापन दोब्बर पार्नुपर्ने, बजेटमा साना सञ्चारमाध्ययमलाई आत्मनिर्भर हुने खालको निति ल्याउनु पर्ने, ज्येष्ठ पत्रकारलाई मासिक रु पाँच हजार उपलब्ध गराउनुपर्ने, पत्रकारको दुर्घटना बिमाको सट्टा जीवन बिमा गर्नुपर्ने, पत्रकारलाई यातायातमा छुट दिनुपर्ने जस्ता माग गरिएको छ ।

यसैगरी आगामी बजेटमा अहिलेसम्म आफ्नो भवन नभएका तीन शाखाको भवन निर्माण गर्न जग्गा र आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने पनि माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारको हकहित र अधिकार प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै यी मागका सम्बन्धमा आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिनु भएको काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडाँरीले बताउनुभयो । रासस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*