जुलियन असान्जमाथिको अनुसन्धान स्थगित

छहारी संवाददाता
जेष्ठ ७, २०७४

स्विडेनका अभियोजनकर्ताले विकिलिक्सका संस्थापक जुलियन असान्जमाथि जारी राखेको बलात्कार आरोपबारे अनुसन्धान तत्कालका लागि स्थगित गरिएको जनाएका छन् । स्विडेनी अभियोजनकर्ताको कार्यालयका निर्देशक म्यारिन नाइले असान्जबारे जारी अनुसन्धान स्थगित भएको बताइन् । स्विडेनले असान्जविरुद्ध सात वर्षअघि पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि असान्जको पक्राउ पुर्जी स्थगन गर्न निर्देशक म्यारिन नाइफिल्डले स्टकहोम जिल्ला अदालतलाई अनुरोध गरेकी थिइन् । ‘सार्वजनिक अभियोजन कार्यालयका निर्देशक म्यारिन नाइले जुलियन असान्जमाथि जारी राखेको शंकास्पद बलात्कारसम्बन्धी मुद्दालाई निरन्तरता नदिने निर्णय गरेका छन् ,’ अभियोजनकर्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

असान्जको त्रास
४५ वर्षीय असान्ज सन् २०१२ देखि लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिइरहेका छन् । उनलाई सन् २०१० मा बेलायत प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि लागेका आरोपबारे अनुसन्धान गर्न सन् २०१२ मा बेलायतको सर्वोच्च अदालतले असन्जलाई स्विडेन सरकारलाई सुपुर्दगी गर्न सरकारलाई निर्देशन दिएको थियो । अदालतको फैसलापछि उनलाई इक्वेडरको दूतावासले शरण दिएको थियो । दूतावास छोडेमा बेलायतले पक्राउ गरेर अमेरिका सुपुर्दगी गर्ने त्रास असान्जमा छ ।

अमेरिकाका गोप्य कागजात चुहावट
बेलायत प्रहरीले असान्जलाई सन् २०१२ मा अदालतमा हाजिर नभएको आरोपमा पक्राउ गर्ने चेतावनी दिँदै आएको छ । असान्जले अमेरिकाका हजारौँ गोप्य कागजात चुहावट गरेका छन् । उनले सेना र कूटनीतिक अभिलेख  पनि चुहावट गरेका छन् । उनले लाखौं सैन्य तथा कूटनीतिक र गोप्य कागजात चुहावट गरेको भन्दै उनीविरुद्ध मुद्दा चलाउन चाहेको अमेरिकी अधिकारीले बताएका छन् । असान्जलाई दूतावासबाटै पक्राउ गरी अमेरिकालाई बुझाउन वासिंगटनले लन्डनसँग आग्रह गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असान्जलाई पक्राउ गरी अमेरिकालाई बुझाउन बेलायतसँग आग्रह गर्दै आएका छन् । स्विडेनका अधिकारीको उपस्थितिमा ६ महिनाअघि लन्डनस्थित दूतावासमा उनको अन्तर्वार्ता लिइएको थियो । उनले दूतावास छोडेमा बेलायत प्रहीले पक्राउ गरेर अमेरिकालाई सुम्पिन सक्ने बताएका थिए ।

यस्तो छ असान्जमाथि लागेको अभियोग
असान्जमाथि स्विडेनका दुई महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । सन् २०१० को अगस्ट ११ मा असान्ज एउटा कार्यक्रममा सहभागी हुने क्रममा स्विडेन पुगेका थिए, जहाँ ‘मिस ए’ नाम गरेकी एउटी युवतीसँग भेट भएको थियो । यसअघि कहिल्यै भेट नभएकी ती युवतीको अपार्टमेन्टमा असान्ज बसेका थिए । सोही महिनाको अगस्ट १४ मा मिस ए र असान्ज ‘युद्ध र सञ्चारमाध्यमको भूमिका’ विषयक गोष्ठीमा सहभागी भएका थिए । सोही रात उनीहरूबीच यौन सम्पर्क भएको थियो । सोही महिनाको १४ अगस्टमा पनि असान्जको ‘मिस डब्लु’ नाम गरेकी अर्की युवतीसँग अर्को सेमिनारमा भेट भयो र सोही राति उनीहरूबीच पनि यौन सम्पर्क भएको थियो । तर, तीन दिनपछि ती दुवै महिलाले असान्जले बलात्कार गरेको आरोप लगाएका थिए । तर, असान्जले दुवै महिलासँग सहमतिमा नै यौन सम्पर्क गरिएको जिकिर गर्दै बलात्कार आरोप अस्वीकार गरेका छन् ।

विकिलिक्सको ध्यान बेलायतमा
आफूमाथिको अनुसन्धान स्विडेनले स्थगन गर्ने भएपछि विकिलिक्सले ट्विट गर्दै भनेको छ, ‘अब विकिलिक्सको ध्यान बेलायततर्फ केन्द्रित हुनेछ ।’ असान्जलाई अमेरिका सुपुर्दगी गर्ने विषयबारे बेलायत मौन रहेको छ । नोभेम्बरमा स्विडेनका अभियोजनकर्ताको उपस्थितिमा दूतावासमै असान्जसँग सोधपुछ गरिएको थियो । उनले आफू निर्दाेष भएको र स्विडेनी युवतीसँग सहमतिमा नै यौन सम्पर्क गरेको बताएका थिए । आफूमाथिको अनुसन्धान राजनीतिक पूर्वाग्रहले अभिप्रेरित भएको उनले दाबी गर्दै आएका छन् । विकिलिक्सले अमेरिकाका गोप्य दस्ताबेज सार्वजनिक गरेकाले पनि अमेरिकाले आफूमाथि निसाना गराउनु स्वाभाविक भएको उनको धारणा छ ।

अनुसन्धान सुचारु हुन सक्छ
असान्ज सन् २०२० को अगस्टसम्म स्विडेन फर्केमा भने उनीबारे प्रारम्भिक अनुसन्धान सुचारु हुने अभियोजनकर्ताले बताएकी छिन् । ‘असान्जबारे अनुसन्धान गर्न नसकेकोमा हामी खेद प्रकट गर्न चाहन्छाैँ,’ उनले भनिन्, ‘उनलाई अहिलेसम्म हामीले दोषी ठहर गरेका छैनौँ ।’ इक्वेडरले स्विडेनको न्याय प्रणालीसँग पूर्णरूपमा सहयोग गरेको इक्वेडरको विदेश मन्त्रालयले जनाएको छ । अनावश्यक ढिलाइप्रति स्विडेनकी अभियोजनकर्ताको आलोचना गरेको इक्वेडरले पछिल्लो निर्णयको भने स्वागत गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*