ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरव

छहारी संवाददाता
जेष्ठ ७, २०७४

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरव भएको छ । पहिलो विदेश भ्रमणका रुपमा ट्रम्प शनिबार आठ दिने भ्रमणका लागि साउदी अरव पुग्नु भएको छ । 

साउदीमा उहाँलाई भव्य स्वागत गरिएको छ भने उहाँले साउदी अरवका राजा सल्मान र राजपरिवारका अन्य सदस्यलगायतलाई भेट गर्नुहुने अपेक्षा गरिएको छ । 

गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्ने आरोपका बारेमा छानविन गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गरिए लगत्तै उहाँ साउदी अरब भ्रमणमा निस्कनु भएको हो । 

रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न सङ्घीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख हुनुहुन्थ्यो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेपछि उमलरलाई नियुक्त गरिएको हो । 

साउदी अरवको रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार विहान ९।५० मा रातो कर्पेटसहित स्वागत गरिएको थियो । 

ट्रम्पले आफ्नी श्रीमतीसहित राजा सल्मानलाई भेट गर्नु हुने छ । शनिबार बेलुका नै उहाँले दुई जना शक्तिशाली युवराजलाई पनि भेट गर्ने कार्यक्रम रहेको छ । उहाँले शिर्ष नेताहरुलाई भने आइतबार मात्रै भेट्नुहुने जनाइएको छ । 
रियादको यो भ्रमणलाई इश्लामिक देशहरुसँगको अमेरिकाको सम्वन्ध सुधार्ने अवसरका रुपमा पनि लिइएको छ । – रासस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*