हेटौंडा बचतको २५ औं वार्षिक साधारणसभा सम्पन्न
हेटौंडा उपमहानगरपालिका ७ मा मुख्य कार्यालय रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा शनिबार भएको साधारण सभामा संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको सभाध्यक्षता रहेको थियो । अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन, सचिव युवराज गौतमले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पार्वती ढकालले वार्षिक योजना तथा बजेट साधारण सभामा पेश गर्नुभएको थियो ।
उक्त अवसरमा गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमिति प्रतिवेदन पेश गरिएको थियो ।
७ हजार १ सय ४५ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ४ करोड ७८ लाख ४३ हजार रुपैयाँ रहेको बताइएको छ । यस्तै संस्थाको कुल बचत ५४ करोड ६० लाख २७ हजार रुपैयाँ रहेको छ ।
लगानी रहेको ऋण रकम ५५ करोड २१ लाख, जगेडा कोष ३ करोड ५५ लाख, अन्य कोष १ करोड २६ लाख रहेको अध्यक्ष इन्द्र बहादुर बस्नेतले बताउनुभयो ।
साधारण सभाको अवसरमा संस्थाले टिम टेलिभिजनका संवाददाता मनिल महतोलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी, नियमित बचतकर्ता, असल ऋणि, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको सचिव युवराज गौतमले जानकारी दिनुभयो ।
संस्थाको हेटौंडा ८ कमाने, हेटौंडा १६ चिसापानि, हेटौंडा २ मा सदस्य सेवा केन्द्र समेत रहेको छ ।