हेटौंडामा तेस्रो संस्करणको राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता हुँदै
आगामी मंसिर ४ गतेदेखि हेटौंडा–७ नागस्वोतीमा तेस्रो संस्करणको राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नागस्वोती भेट्रान्स क्लबले शनिबार पत्रकार सम्मेलन गरी आगामी मंसिर ४ गतेदेखि ८ गतेसम्म तेस्रो संस्करणको एट ए साइड राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।
हेटौंडा–७ नागस्वोती स्थित नवज्योति माविको खेलमैदानमा हुने प्रतियोगितामा २० वटा भेट्रान्स क्लबको सहभागिता रहने अपेक्षा गरिएको नागस्वोती भेट्रान्स क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिनुभयो ।
‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गरिने प्रतियोगिताको विजेताले २ लाख एक हजार रुपैयाँ र उपविजेताले १ लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका सर्वाधिक गोलकर्ता, फरवार्ड, गोलकिपर, डिफेन्स र टिम कोचलाई जनही पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता आयोजना गर्न १९ लाख १२ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।