हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रमः मंगलबार पहिलो दिन अपहिल साइक्लिङ प्रतियोगिता सम्पन्न

छहारी संवाददाता
कार्तिक ६, २०८१

हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम मंगलबारदेखि सुरु भएको छ । मंगलबार पहिलो दिन हेटौंडा–२ स्थित सिचाईटोलदेखि मनकामना मन्दिरसम्म अपहिल साइक्लिङ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा राजिव ठाकुर प्रथम, आशिष थापा द्वितीय र रविकृष्ण नकर्मी तृतीय भएका छन् । ठाकुरले १३ मिनेट ६ सेकेण्डमा, थापाले १५ मिनेट २१ सेकेण्ड र नकर्मीले १५ मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पूरा गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ९ हजार रुपैयाँ, ६ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा १३ जनाको सहभागिता रहेको हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह समारोहका संयोजक विवेक आनन्द न्यौपानेले जानकारी दिनुभयो ।

हेटौंडा जेसीज २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रममा जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेश मोहन प्रधान लगायत पूर्व अध्यक्षहरुको आतिथ्य रहेको थियो । आजै वतृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ ।

त्यस्तै सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन कार्तिक ७ गते बुधबार बिहान ७ बजे हेटौंडा १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम, कार्तिक ८ गते विहान ७ बजे हुप्राचौरमा रक्तदान कार्यक्रम र सोही दिन बिहान ९ बजे सितलमहलचोकमा स्लो मोटरबाइकल प्रतियोगिता हुनेछ ।

कार्तिक ८ गते नै दिउँसो ४ बजे हेटौंडा ९ मा लागूऔषध दूव्र्यशनीविरुद्धको सचेतना कार्यक्रम आयोजना गरिने र कार्तिक ९ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक विवेक आनन्द न्यौपानेले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*