प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुखः बागमती प्रदेशका मुख्यमन्त्री लामा

छहारी संवाददाता
कार्तिक ५, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख रहेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नहुुँदै मुख्यमन्त्री लामाले स्वास्थ्य क्षेत्र प्रदेश सरकारको एकल अधिकार भित्र पर्दा सबैले अपनत्व महसुस गरेको बताउनुभयो । प्रादेशिक संरचनाको कारण जनताको पनि स्वास्थ्य क्षेत्रमा पहुँच पुगेको उहाँको भनाई छ ।

मुख्यमन्त्री लामाले स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कानुनी अड्चनहरुलाई समाधान गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रको लागि ठुलाठुला भवन र साम्रगीहरु मात्र नभई जनचेतनामुलक कार्यक्रमहरुलाई पनि व्यवस्थित रुपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गोष्ठीमा स्वास्थ्य मन्त्री किरण थापा मगरले संघीय सरकारको अनुदान समयमै उपलब्ध नहुँदा कतिपय कार्यक्रमहरु कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । संघीयताको कारण विगतमा स्वास्थ्य चौकी भएकाहरु अहिले अस्पतालमा परिणत भएको उहाँको भनाई छ ।

मन्त्री मगरले बिरामीको चाप अनुसार जनशक्ति व्यवस्था गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो । चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयको बजेत कम भएपनि आगामी वर्ष बजेटमा बृद्धि गर्न पनि उहाले मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।

सोमबार देखि सुरु भएको समीक्षा गोष्ठी कार्तिक ७ गते सम्म चल्ने छ । गोष्ठीमा मन्त्रालय मातहत रहेका स्वास्थ्य केन्द्रहरुको प्रस्तुतिकरण रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*