काठमाडौं र हेटौंडा जोड्ने तीनवटा छोटो दूरीका सडक सञ्चालन

छहारी संवाददाता
अशोज २१, २०८१

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षतिग्रस्त बनेको संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौंडा जोड्ने तीनवटा छोटो दूरीका सडक मार्ग सञ्चालनमा आएका छन्।

हेटौंडा काठमाडौं जोड्ने सबैभन्दा छोटो दूरीको महालक्ष्मीखोला–चखेल–मातातीर्थ सकक खण्ड, फाखेल– हुमाने–फर्पिङ सडक र सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाडौं जोड्ने सडक आइतबार साँझबा सञ्चालनमा ल्याइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन कुमार मास्केले जानकारी दिनुभयो । आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मास्केले यी सडकमार्गहरुमा गएका एक सय भन्दा बढी पहिरो हटाइएको जानकारी दिनुभयो ।

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमार्ग अन्तर्गत सिमखोला पुल नजिकैको पहुँचमार्ग बगाएपछि डाइभर्सन निर्माण गरिएको छ। कुलेखानी–सिस्नेरी खण्डको ज्यामिरेमा एउटा, कुलेखानी–फाखेल खण्डको महालक्ष्मी खोलामा एउटा, कुलेखानी हेवीमा एउटा र दक्षिणकाली नगरपालिका क्षेत्रमा गरी ५ वटा डाइभर्सन निर्माण गरिएको छ ।

दक्षिणकालीमा सरकारी स्वामित्वको जग्गाको समेत अभाव हुनेगरि बाटो बगाएपछि निजी जग्गामा डाईभर्सन बनाइएको मन्त्री मास्केले बताउनुभयो । सडक सुचारु भएसँगै सबै सडक सञ्जालमा आइतबार सााझबाट नै यातायात सञ्चालनमा आएको छ । योसँगै काठमाडौ हेटौंडा जोड्ने ५ वटा सडकमार्ग सञ्चालनमा आएको छ । कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–सडक र त्रिभुवन राजपथ यस अघि नै सञ्चालनमा आएका थिए । कान्तिलोकपथ निर्माण कार्य जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*