वंशगोपाल सहकारीको १६ औँ वार्षिक साधारणसभा सम्पन्न
वंशगोपाल बचत तथा ऋण सहकारी संस्था हेटौंडा-१८ हर्नामाडीको १६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति मकवानपुरका सदस्य विष्णुमाया थपलिया र जेष्ठ सदस्य हरि प्रसाद दुलालले संयुक्त रुपमा उद्धघाटन गर्नुभयो ।
उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी थपलियाले सबै वर्गका शेयर सदस्यको आर्थिक स्तर सुधार गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय सहकारीसंग सम्बन्धित आर्थिक अनियमितताको खबरले शेयर सदस्यहरुमा समेत आतंक फैलिएको बताउँदै उहाँले वंशगोपाल सहकारी अहिलेसम्म उत्कृष्ट नै रहेको दाबी समेत गर्नुभयो ।
थपलियाले आगामी दिनमा सहकारीको मर्म र भावना अनुरुप ऋण लगानीमा ध्यान दिन समेत सुझाउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी एवं कृषि विकास बैंक हेटौंडाका प्रबन्ध निर्देशक नूर प्रसाद गौतमले संस्थालाई अगाडी बढाउन संस्था र शेयर सदस्य दुबै जिम्मेवारीपूर्वक लाग्नु आजको आवश्यकता रहेको औैल्याउनुभयो । त्यसका लागि शेयर सदस्यहरुलाई उद्यममा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष अरुण कुमार खतिवडाले संस्थाको प्रगति प्रतिवेदन पेश गर्नुभयो । संस्थाको हालसम्मको तलरता राम्रो अवस्थामा रहेको र यस आ.व.देखि ८ देखि १० लाखसम्मको रकम समुह जमानीमा परिक्षणका रुपमा लगानी गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो ।
सचिवको प्रतिवेदन पेश गर्दै सचिव वरुण कुमार खतिवडाले आ.व. २०७९।०८० को नाफाको तुलनामा आ.व. २०८०।०८१ मा ४ लाख ३६ हजार ५१७ रुपैयाँ वृद्धि भएको बताउनुभयो । चालु आ.व.२०८१।०८२ मा मासिक बचत ५ सय रुपैयाँ बनाउने, ऋण असुली प्रक्रियालाई कडाई गरिने, प्रयोगका रुपमा बिना धितोमा ऋण कर्जा लगानीलाई समूहगत बनाउने, ऋणको सीमालाई ८ लाखबाट १० लाख बनाउने, विना धितो १० हजार रुयैयाँ ऋण लगानी गर्ने, प्राविधिक तथा उच्च शिक्षा अध्ययनका लागि २० लाख रुयौयाँ विनियोजन गर्ने , आयआर्जन र घरायसी कर्जामा ४०/४० प्रतिशत र सामाजिक कर्जामा २० प्रतिशत कर्जामा लगानी गरिने सचिव खतिवडाले जानकारी दिनुभयो ।
कोषाध्यक्ष इमान बहादुर थापाले चालु आव २०८१।०८२ मा १ करोड १३ लाख ९६ हजार ७ सय ९५ रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तत गर्नुभयो । उहाँले आव २०८०।०८१ मा ८ करोड ५८ लाख १ सय ८ रुपैयाँ कुल कारोबार भएकोमा ८७ लाख ८० हजार ७६७ रुपैयाँ कुल आम्दानी भएको प्रतिवेदन पेश गर्नुभयो ।
त्यसैगरी ऋण उपसमितिका संयोजक माधव नारायण तुलाधरले ऋण उपसमितिको प्रतिवेदन र लेखा समितिका संयोजक कपिल प्रसाद पराजुलीले लेखा प्रतिवेदन पेश गर्नुभयो ।
कार्यक्रममा २०८० सालको एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने दुई विद्यार्थीलाई सम्मान गरिएको थियो । सामुदायिक विद्यालयतर्फबाट जिपिए ३.२४ प्रतिशत ल्याउने आधुनिक राष्ट्रिय माविका विद्यार्थी दिविका पन्थ र नीजि विद्यालयतर्फबाट जिपिए ३.३८ प्रतिशत ल्याउने सिद्धार्थ शिशु सदनका विद्यार्थी प्रवेश गुरागाँईलाई सम्मान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट बचतकर्ता मखन कुमारी श्रेष्ठ र असल ऋणी सरिता प्रजापतिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडा, गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रोशन थापा, साना किसान कृषि सहकारी संस्था हर्नामाडीका अध्यक्ष रेखा खतिवडा र गंगा कोइरालाले मन्तव्य राख्नुभएको थियो ।