हेटौंडाको ११ नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
हेटौंडाको ११ नम्बर वडा निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम उपप्रमुख राजेश बानिंया विशेष आतिथ्यतामा शनिबार आयोजित एक कार्यक्रममा ११ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै मेयर लामाले बालमैत्री वडा घोषणाको दिगोपन कायम गर्न वडा कार्यालयलाई आग्रह गर्नुभयो । उहाँले निकट भविष्यमा बालमैत्री नगर घोषणा गर्ने तयारीमा उपमहानगर रहेको समेत बताउनुभयो ।
कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष जुना दाहालले घोषणाको दिगोपन कायम गर्न वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भइसकेको जानकारी दिनुभयो । २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने सरकारको लक्ष्य अनुरुप ११ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको उहाँले बताउनुभयो ।
३ हजार ४ सय १७ बालबालिका रहेको ११ नम्बर वडामा २५ वटा बालसमुह र एउटा वडा बालसंजाल रहेको छ ।