हेटौंडाको ११ नम्बर वडा असोज १९ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
हेटौंडा उपमहानगरपालिकाको ११ नम्बर वडा पनि निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ ।
बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गरी वडा अध्यक्ष जुना दाहालले यहि १९ गते शुक्रवार वडालाइ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिनु भएको हो ।
बालमैत्री वडा घोषणाका लागि निर्धारण गरिएको ५१ वटा सूचक मध्ये ४४ वटा सूचकमा सत प्रतिशत, १ वटा सूचक ९९ प्रतिशत, १ सूचक ९८ प्रतिशत, १ सूचकमा ९७ प्रतिशत, १ वटा सूचकमा ९५, १ वटा सूचकमा ९० प्रतिशत, १ वटा सूचकमा ८१ प्रतिशत र १ वटा सूचकमा ८० प्रतिशत नतिजा हासिल गरेको उहाँले जानकारी दिनुभयो ।
कुल ९.६६ वर्ग किलोमिटर क्षेत्रफल रहेको ११ नम्बर वडाका केहि क्षेत्र शहरी छन् भने अधिकांस भागहरु ग्रामिण छन । यस वडामा कुल ३ हजार ४१७ जना बालबालिका रहेकोमा बालक १,७९८ र बालिका १,६१९ रहेका छन् । यस वडामा सामुदायिक र संस्थागत गरी ६ बटा विद्यालयहरु संचालनमा छन् ।
यसैगरी २५ वटा बालसमूह र १ वडा बाल संजाल रहेको छ जस्मा ६२५ जना बालबलिकाहरु आवद्ध रहेका छन् । विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ६६९ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ ।
यस अवधिमा वडाका विभिन्न स्थानहरुबाट बालश्रमिकहरुको उद्वार गरि पारिवारिक मिलन समेत गरिएको छ भने बालविवाहहरु रद्ध गरिएका छन् । ११ नम्बर वडामा बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सन्जाल, टोलविकास सस्थाहरु, युवा क्लब, आमा समूह साथै विभिन्न सामुदायिक सस्थाहरु क्रियाशिल छन् ।
यसअघि हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४, ७, ८, ९,१५, १० र १७ बालमैत्री वडा घोषणा भइसकेका छन् ।