उद्योग दर्ता प्रक्रियालाई झन्झटिलो नबनाउन निर्देशन दिएकोछुः उद्योगमन्त्री तामाङ

छहारी संवाददाता
अशोज १७, २०८१

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले उद्योग दर्ता प्रक्रियालाई झन्झटिलो नबनाउन सबै जिल्लामा निर्देशन दिएको बताउनु भएको छ ।

बिहीवार मकवानपुर सैनिक परिवार समुह खाद्यान्न उद्योगको उद्घाटन गर्दै मन्त्री तामाङले उद्योग व्यवसाय दर्ता गर्न आउनेहरुलाई सरकारी तहबाट कुनै अप्ठ्यारो नपार्न निर्देशन दिएको बताउनुभयो । एउटा उद्योगले सयौं नागरिकलाई रोजगारी सिर्जना गर्ने भन्दै उहाँले उद्योग संचालनको उर्जा बोकेर आउनेलाई यो वा त्यो बहानामा दुःख दिएको थाहा पाए सम्बन्धित निकायलाई तत्काल कार्वाही गर्ने चेतावनी दिएको बताउनुभयो ।

उद्योगमन्त्री तामाङले जुन देशका नागरिक श्रम गर्न लाज मान्दैनन् त्यस देशको उन्नती सम्भव रहेको बताउनुभयो । उहाँले नेपालमा श्रम गर्ने व्यक्तिलाई हेयको भावले हेर्ने परिपाटी रहेको भन्दै श्रमको सम्मान सबैले गनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय भुतपूर्व सैनिक श्रीमती संघ मकवानपुरका अध्यक्ष डोल्मा स्याङबोले आयआर्जनमा जोडीनुपर्छ भन्ने ठानेर दर्ता भएको करीब ६ वर्षपछि उद्योग संचालन गरेको बताउनुभयो । थोरै लगानीबाट सुरु गरिएको यस उद्योगमा तत्कालका लागि मकै, गहुँ, कोदो र फापरको पिठा उत्पादन गरी बजारमा ल्याएको जानकारी दिनुभयो ।

स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने, रैथाने बालीको संरक्षण गर्ने र स्वदेश तथा विदेशमा आफ्नो उत्पादन निर्यात गर्ने उदेश्यले उद्योग संचालनमा आएको हो । सेनाको परिवार मात्र संलग्न रहेको उद्योगमा चार जनाको लगानी रहेको छ भने उद्योगमा ६ जना आबद्ध छन् । २०७५ सालमा स्थापना भएको सैनिक श्रीमती संघले २०८१ बैशाख २१ गते मकवानपुर सैनिक परिवार समुह खाद्यान्न उद्योग दर्ता गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*